img

बालुवाटार बैठकमा उपसभामुखबारे प्रधानमन्त्री : ‘रास्वपाका माग पूरा गर्दिउँ, प्रक्रिया अघि बढाउँ’

: 7 months ago

स्रोतका अनुसार, बैठकमा सामाजिक सञ्जाल विधेयकमाथि छलफल चलेको भनिएपनि मुख्य रुपमा उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्ने विषयले नै प्राथमिकता पाएको देखिन्थ्यो । दुवै दलका नेता र महान्याधिवक्तालाई समेत राखेर बैठक बसेको थियो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली ‘रास्वपा सांसदहरूले संसद्‍मा राखेको माग पूरा गरिदिनुपर्छ’ भन्दै ठट्यौली शैलीमा प्रस्तुत भएका थिए ।

‘उनीहरुले मानव तस्करलाई कारबाही गर भनेर दुई महिनादेखि संसद्‍मा नाराबाजी गरिरहेका छन्, हामीले पूरा गर्नसक्ने माग सम्बोधन गरिदिनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘मानव तस्कर उनीहरुकै पार्टीभित्र छन्, उपसभामुख भएर बसेका छन्, तिनैलाई कारबाही गर भनेको त होला नि । हामीले प्रक्रिया अघि बढाउनुपर्छ ।’

यसरी सुरु भएको कुराकानीमा कांग्रेस पनि तयार भयो । किनकी कांग्रेसबाटै गृहमन्त्री बनेका रमेश लेखकलाई भिजिट भिसामा संलग्न भएको भन्दै रास्वपाले कारबाही गर्नुपर्ने माग गर्दै आएका थिए ।

जानकारहरुका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओली केही महिनादेखि नै उपसभामुख इन्दिरा रानालाई पदमुक्त गर्न चाहन्थे । तर बारम्बार उनको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा सहमत हुन सकेका थिएनन् । र, पछिल्लो समय उनी रानालाई पदमुक्त गर्ने मनस्थितिमा भए पनि केही मौन थिए ।

५२ संवैधानिक पदाधिकारीहरु विरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएका बेला प्रधानमन्त्री ओलीले अप्ठेरो परिस्थिति आएमा उपसभामुख रानाले साथ दिने अपेक्षा गरेका थिए । तर ६ सदस्यीय संवैधानिक परिषद्‍मा विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसहित उपसभामुख रानाले पनि साथ दिने संकेत मिलेन ।